धरान : इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले आफ्नो जन्म दिन इटहरी आइसोलेसनमा रहेका संक्रमितहरुसँग मनाएकी छन् ।

इटहरी अस्पतालका इमरजेन्सी प्रमुख रामकुमार धमला सहित आइसोलेसन गएकी उपमेयर गौतमले आइसोलेसनमा रहेका ५३ जना सङ्क्रमितहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

आइसोलेसनमा खटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई समेत धन्यवाद ज्ञापन गरिन । उपमेयरले निषेधित क्षेत्र बाहिरैबाट संक्रमितहरुसँग अन्तरक्रिया गरेका हुन् ।

आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका नितेश गौतमले भने “उपमेयरले आइसोलेसनमा बस्दा केही गाह्रो अप्ठ्यारो समस्या केही भए भन्नुहोस् भन्नुभयो, हामीले आफ्ना कुरा राख्यौ ।

”सङ्क्रमितहरूले राखेका स्वास्थ्य सम्बन्धी जिज्ञासाको रामकुमार धमलाले जवाफ दिएका थिए । इटहरी-५ का राजन चौलागाँईले भने “उपमेयरको जन्मदिनका अवसरमा फलफूल सहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ,हामीले उहाँलाई शुभकामना दियौ,केही बेर नाचगान पनि भयो,रमाइलो भयो ।”

स्वास्थ्यकर्मी सहित पुगेर सङ्क्रमितको समस्या सुनिदिएकोमा सङ्क्रमितहरूले खुसी व्यक्त गरेका छन् । उपमेयर गौतमले छिट्टै कोरोनामुक्त बनेर आ-आफ्नो ठाउँमा सचेतना फैलाउन आग्रह गरे । आफूले सङ्क्रमितहरूका समस्याका बारेमा सङ्क्रमितहरूबाटै जानकारी लिएको उपमेयर गौतमले बताए ।

महिलाका छुट्टै कुनै समस्या भए आफूलाई फोन गरेर बताउन भनेको उपमेयर गौतमले बताइन् । उपमेयर गौतमले गत वर्ष इटहरी-२ स्थित निर्माणाधीन सेफ हाउस परिसरमा कागतीका बिरुवा रोपेर जन्मदिन मनाएकी थिइन् ।