विराटनगर : कोरोना सङ्क्रमणका कारण मोरङमा तीन जनाको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एक जना र विराट मेडिकल कलेज टंकिशिनवारीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो ।

वृद्धमा गत शनिवार कोरोना पुष्टि भएको थियो । वृद्धमा दमको पुरानै समस्या रहेको थियो । यसै गरी मोरङको बुढीगंगा गाउँपालिका– २ टंकिशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा आज बिहान दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कलेजको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाट खोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको आज बिहान ८ः१० बजेतिर मृत्यु भएको हो । आइसोलेसन इन्चार्ज देवका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

यसै गरी आज ११ः२० मा विराटनगर ७ हाट खोलाका एक कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
उनलाई २१ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । आज बिहान उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मृतकमा मृगौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।