विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद् बिच सम्झौता भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाइन मार्फत विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बिच सम्झौता भएको हो । 

विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने उद्देश्य सहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिए ।

उनका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् ।

मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । 

सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने छ ।

सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए  । मन्त्री घिमिरेले अनुसन्धानको जग बसाउने काम सुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताए । 

राष्ट्रिय अनुसन्धान परिषद्का अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताए । पुनले सृजनशील र प्रतिभाशाली व्यक्तिहरू अनुसन्धान गरी उद्यमी बन्न सक्ने बताउँदै अनुसन्धान कार्यमा कन्जुस्याइँ गर्न नहुने बताए । 

सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल, नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले आ-आफ्नो विचार राखेका थिए ।