विराटनगर : प्रदेश १ सरकारद्वारा सञ्चालित विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कडा बिरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन् ।

प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरू थप गर्दै लगेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा बेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए ।

कोभिड अस्पतालमा लक्षण सहितका सङ्क्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट आजसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।