धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा व्यापक अनियमितता भएको भन्ने उजुरी परे पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

कोभिड अस्पतालको उद्घाटन भएको करिब ४ महिना पछि मात्रै सञ्चालनमा आएको र त्यहाँ जडित नयाँ भेन्टिलेटरहरू ३ महिनामै बिग्रिए पछि नक्कली सामानहरू जडान गरेर व्यापक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको बताइएको छ ।

सङ्घीय र प्रदेश सरकारको बजेटबाट करोडौँ खर्चिएर तयार गरेको कोभिड अस्पताल सुरुवातदेखि नै विवादमा पर्दै आएको छ । कोभिड अस्पतालको औषधी, मेशिन तथा उपकरणहरू खरिदमा व्यापारीसँगको मिलेमतो गरेर अनियमितता भएको पनि आरोप छ ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी र उनको सल्लाहकार तथा स्वकीय सचिव दिलीप भट्टराई कोभिड अस्पताल सुरु भएदेखि नै अस्पतालको व्यवस्थापन र सामान खरिदमा अनियमितता गरेको भन्दै विवादमा मुछिँदै आएका छन् ।

मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याउन दवावनै दिनु पर्‍यो । नेपाली काँग्रेसको भातृ सङ्गठनहरूले दबाबमूलक आन्दोलन गरेपछि करिब ४ महिना पछि अस्पताल सञ्चालनमा जर्वजस्ती ल्याईएको थियो ।

सञ्चालनमा आएको अस्पतालको भेन्टिलेटर ३ महिनामै बिग्रिएपछि कोभिड अस्पतालमा व्यापक अनियमितता भएको भन्दै सोमबार देखि अख्तियारले छानबिन सुरु गरेको हो ।अख्तियार कार्यालयबाट ४ जना अधिकारी आएर सोमबार साँझ कोभिड अस्पतालको बारेमा कागजपत्र मागेको बताइएको छ । तर यसबारेमा भने प्रतिष्ठानका पदाधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।

केही दिन अघि देखि उपकुलपतिका स्वकीय सचिव तथा सल्लाहकार दिलीप भट्टराईको बारेमा प्रतिष्ठान भित्रकै कर्मचारीबाट विरोध भइरहेको छ । कर्मचारीहरूले उपकुलपति र उनको सचिवालयले भने औषधी र विभिन्न सामग्री खरिदमा व्यापारीसँग मिलेमतो र कमाऊ धन्दामा लागेको आरोप लाग्दै आएको छ ।