धरान : धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ ।

धरानमा पछिल्लो समय दैनिक सयको हाराहारीमा कोरोना सङ्क्रमण हुन थाले सँगै दैनिक जसो कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । धरान उपमहानगरपालिकामा के कति कुन वडाका सङ्क्रमित थपिए र काहा को सङ्क्रमण भएर मृत्यु भयो भन्ने हेक्का हुन छाडेको छ ।

आइतबार साँझ अबेर कपुरी न्युजलाई जानकारी आए अनुसार धरान १९ मा केही दिन अघि कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेकी एक ७० वर्षीय बृद्धा महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार मृतकको दोस्रो पटक पिसिआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ नै रिपोर्ट आएको थियो ।

उनको आइतबार बिहान होम आइसोलेसनमै मृत्यु भएको हो । यो सँगै धरानमा आइतबार मात्रै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एकै दिन ३ जना पुगेको छ ।

कोरोना आशङ्का गरिएकी एक महिलाको पनि मृत्यु
धरान १४ निवासी कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएको तर कोरोना परीक्षण नगरिएकी एक जना महिलाको पनि आइतबार मृत्यु भएको छ ।

उनलाई कोरोनाकै जस्तो लक्षण देखिएको थियो । तर कोरोना परीक्षण भने गरिएन । स्वास्थ्य सावधानी अपनाएर दाहसंस्कार गरिएको बताइएको छ । उनको दाहसंस्कारका लागि धरान उपमहानगरपालिकाबाट केही थान पिपिई सेट, मास्क, पन्जा उपलब्ध गराएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

नेपाल सरकारको पछिल्लो स्वास्थ्य प्रोटोकल अनुसार मृत्यु पछि पिसिआर परीक्षण नगर्नु भनिएकोले आशङ्का गरिएको महिलाको मृत्यु पछि स्वाब नलिइएको बताइएको छ ।