धरान : धरानमा ५३ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरिएको छ ।

अहिले सम्म धरान उपमहानगरपालिका भित्रका ४४ जना र ९ जना धरान बाहिरका कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईको स्वकिय सचिव राजेशमान श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसार घटस्थापना देखि हिजो विजय दशमीको दिन सम्म मात्रै धरानमा २२ वटा शवको व्यवस्थापन गरिएको छ । कोरोना सङ्क्रमित भएर मृत्यु हुनेको शव व्यवस्थापन निकै ठुलो चुनौती भएको बताउँदै श्रेष्ठले भने 'शव व्यवस्थापनका लागि धेरै कुराको समन्वय गरेर मात्रै गर्न सकिन्छ' ।

शव व्यवस्थापनका लागि धरान उपमहानगरपालिकाका विपद् व्यवस्थापन तथा वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेको संयोजकत्वमा नगर प्रहरी प्रमुख विष्णु कोइराला, वातावरण निरीक्षक राजु चौहान, नगर प्रहरी बिसन गुरुङ, स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेता सहित समन्वयकर्ता मेयरका स्वकिय सचिव राजेशमान श्रेष्ठको समूह सक्रिय रहेको छ ।

नगर प्रहरीले शव व्यवस्थापनका लागि ठाउँ हेर्ने, जेसिवीले खन्ने लगायतको कार्य गर्नुपर्ने हुन्छ । शव व्यवस्थापनका लागि एउटा जेसिवी, शव बहान, एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, जिल्ला प्रशासन कार्यालय सुनसरी लगायतको समन्वयमा हुने गर्दछ । 

धरानमा शव व्यवस्थापनका लागि पवन अग्रवाल, हेम सुबेदी र मुकुन्द कटुवालले जेसिवीमा सहयोग गरेका छन् । नेपाली सेनाका दिनेश गौतम, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, बीपीका कोभिडका चिकित्सकहरू, स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेता, धरान उपमहानगरपालिकाका मेयर र उपमेयर लगायतको समन्वयमा शव व्यवस्थापन हुँदै आएको छ ।

मृतकहरूको शवलाई चारकोशे जङ्गलमा लगी व्यवस्थापन गरिँदै आएको र मृतकको नाम, नम्बर सहितको सिमेन्टको स्लाब राखिने पनि मेयरका स्वकिय सचिव श्रेष्ठले बताए । 

धरान उपमहानगरद्वारा शव वाहन सञ्चालन :
धरान उपमहानगरपालिकाले केही दिन यता देखि कोभिड १९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्नका लागि आफै एउटा शव वाहन सञ्चालन सुरु गरेको छ ।

 सो शव वहानले कोभिड-१९ वाट मृत्यु भएकाहरूलाई मात्रै बोक्ने बताइएको छ । शव वाहन सञ्चालनमा आएपछि कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु भएका शवहरूलाई व्यवस्थापन गर्न सहज हुने बताइएको छ ।

Sab-Beyabasthapan-1 Sab-Beyabasthapan-2 Sab-Beyabasthapan-3