धरान : खोटाङमा भएको ट्याक्सी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

खोटाङको बाह्रपोखरी गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा बंशिलाढाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० नं को ट्याक्सी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना परि उदयपुर चौदण्डीगढी नगरपालिका ८ बस्ने वर्ष २० की बृहस्पति राई , खोटाङको बाह्रपोखरी गाउँपालिका ६ बस्ने वर्ष ४५ को बच्छुमान राई र सोही स्थानमा बस्ने वर्ष ४० को विश्व राईको घटनास्थलमा नै मृत्यु भएको छ ।

यसै गरी उदयपुरको चौदण्डीगढी ८ का मृतक बृहस्पति राईको ९ महिने छोरा बिप्सन राई, सोही स्थानका वर्ष २८ को छत्र बहादुर राई राई, ३० वर्षीय दिपल परियार राई र खोटाङ बाह्रपोखरी गाउँपालिका ६ बस्ने मृतक बच्छुमान राईको श्रीमती वर्ष ३२ की नबिना राई घाइते भएका छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो ट्याक्सीका चालक उदयपुरको चौदण्डिगढी नगरपालिका ६ बस्ने वर्ष २७ को याम बहादुर बिकलाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएको छ ।

यसै गरी सुनसरीको रामधुनी नगरपालिकाको भित्री सडकमा ट्र्याक्टरले किची सहचालकको मृत्यु भएको छ ।

को २ त २८९२ नं को ट्याक्टर उकालोमा चढ्न नसक्दा पछाडिबाट धकेल्ने क्रममा ब्रेक नलागी पछाडि रहेको खाल्डोमा खस्दा सोही ट्याक्टरका सह चालक वर्ष ३० को दिनेशराज धामी लाई किची घटनास्थल मानै मृत्यु भएको प्रहरीले जनाएको छ ।