धरान : बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका झापाका राजेन्द्र प्रसाद प्रसाईँ पक्राउ परेका छन्। उनलाई अदालतले २ महिना कैद र १ करोड १५ लाख जरिवाना तोकेको थियो ।

झापाको कनकाई नगरपालिका वडा नं ३ बस्ने ५५ वर्षीय व्यवसायी राजेन्द्र प्रसाद प्रसाईँ फरार भएको १ वर्ष पछि पक्राउ परेको झापा जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

चाडपर्व मनाउन आएका प्रसाईँलाई हिजो राति उनकै घरबाट पक्राउ गरिएको हो । उनी यसअघि मोरङका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएको खुलेको छ।

'चाडपर्व लक्षित सुरक्षाका योजना अन्तर्गत सादा पोसाकमा खटिएका प्रहरीहरूले शङ्कास्पद तथा फरार व्यक्तिलाई झापा प्रहरीको निगरानी गरेको थियो, सोहि योजना पक्राउ गर्न सफल भयौ' थापाले भने ।

डिएसपी थापाका अनुसार भगवती ढुङ्गेलले दिएको जाहेरीका आधारमा उच्च अदालत विराटनगरको इजलासले मिति २०७६/०९/१४ गतेको गरेको फैसला बमोजिम १ महिना कैद र २५ लाख बिगो सहित दुवै सजाय तोकेको थियो ।

प्रसाईँकै नाममा सुरेन्द्र कुमार उप्रेतीको जाहेरी परे पछि सोही मुद्दामा अदालतले ०७६ पुस २१ गते १ महिना कैद र ९० लाख बिगो सहित दुवै सजाय तोकेको थियो ।

झापा जिल्ला अदालत बडादसैँको कारण हाल बन्द रहेको छ। बिदा पश्चात् सञ्चालन भएको बखत निज प्रतिवादीलाई अदालतमा उपस्थित गराइने थापाले बताए ।