वडा दसैँ अन्तर्गत आज टिकाको चौथो दिन त्रयोदशी । आज पनि मान्यजनबाट टिका जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी रहने छ ।

विशेष गरी टाढाटाढा रहेका आफन्तहरू आफ्ना आफन्त सँग भेट गर्न दशमी कै जान पाउँदैनन् । दशमीको नै दिन भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नवदुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि एवम् आत्मीयताको वृद्धि भई कसिलो सम्बन्ध विस्तार हुने भएकाले यसरी भेटघाट गर्नु आवश्यक छ र यो अनिवार्य पनि हो।

असत्यमाथि सत्य र दानवी शक्तिमाथिको विजयका रूपमा मनाइने विजयादशमीलाई शाश्वत सनातन वैदिक धर्मावलम्बीहरूले यस चाडलाई महत्त्वपूर्ण पर्वका रूपमा मनाउदै आएका छन् । तर मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन रहेको छ। हाम्रा चाडपर्व हाम्रो भावना सँग जोडिएका हुनाले हामीले यसलाई चाहेर पनि वेवास्ता गर्न सक्दैनौँ ।

यस विजया दशमीले सम्पूर्ण शक्तिका पूजक र सौर्यका उपासक हामी नेपालीहरूलाई आफ्नो जीवनमा अघि बढ्ने ऊर्जा प्रदान गरेको छ । त्यसैले हामीले हाम्रा चाडपर्वहरूलाई निरन्तरता दिन चाड पर्वको मौलिकतालाई जगाई परम्परागत शैलीमा नै यसलाई मनाउनु पर्छ।

किनभने हाम्रो चाड पर्वको संस्कृति हरायो भने हाम्रो संस्कार हराउँछ र संस्कार हराए तपाईँ हाम्रो पहिचान हराउँछ त्यसै गरी पहिचान हराए हाम्रो अस्तित्व हराउँछ अन्त्यमा अस्तित्व हराए हाम्रो अवश्य पनि पतन हुनेछ । त्यसैले हामीले संस्कृति जोगाउनका लागि चाड पर्व मौलिकता पूर्ण ढङ्गले मनाउन जरुरी छ।