झापा : पूर्वपश्चिम लोक मार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-५ पाडाजुङीदेखी पूर्वमा कनकाई नगरपालिकाको सिमानासम्म पशु चौपायाका कारण दुर्घटना अधिक हुने गरेको छ ।

सो क्षेत्रमा बिहान ९ बजे देखी ११ बजेसम्म र बेलुकाको समय सडकमै पशु चौपायाको भिड भइदिनाले समस्या निम्तिरहेको छ । चरनका लागि लोकमार्ग नजिकका क्षेत्रमा जथाभाबी पशु चौपाया छाड्ने गरेका कारण सो समयमा सवारी चलाउन समस्या हुने गरेको सवारी चालकहरू गुनासो गर्छन् ।

दमकका हलुका सवारी चालक गणेश गौतमले भने, “बिहानको ९ बजेपछि त त्यो सडक खण्डमा सवारी चलाउन समस्यै समस्या हुन्छ । यहाँ धेरै पटक भएका दुर्घटना यिनै पशु चौपायाका कारणले भएको हो” । बेलुका पनि ३ देखि ६ बजेसम्म मुख्य लोक मार्गमा पशु चौपायाको भीड नै हुने गरेको छ ।

समस्या एक दुई वर्ष अगाडिदेखिको भने हैन । यो समस्या बर्षौ अघि देखीको हो । तर यसको नियन्त्रण अझै हुन सकेको छैन । विशेष गरी जाडो याममा बाक्लो हुस्से लागेका बेला थप समस्या हुने र पशु चौपायाकै कारण बढी दुर्घटना हुने गरेको धरान विराटनगर रुटमा वर्षौँदेखि सवारी चलाउँदै आएका सवारी चालक धनबहादुर सिलवाल गुनासो गर्छन् ।

यस सडक खण्डमा हुने अधिकांश सवारी दुर्घटना छाडा रूपमा छाडिएका पशु चौपायाकै कारणले हुने गरेको कमल गाउँपालिकास्थित केर्खाका स्थानीय समेत रहेका सञ्चारकर्मी उमानाथ भण्डारी बताउँछन् । उनका अनुसार स्थानीयले पशुको गोठालै नलागी छोड्ने गरेका कारण दुर्घटना बढेको हो ।

प्रहरीले पटक/पटक पशु चौपाया छाडा नछोड्न निर्देशन दिए पनि अटेर गरेको उनले बताए । पशु चौपाया धनीले हेलचेक्र्याइँ गर्दपनि समस्या बढेको ट्राफिक प्रहरीको भनाइ छ । सडकमा सवारीको भीड लागेको बेला स्थानीयले सडक पार गर्नका लागि पशु चौपाया छाड्ने गरेको गौरीगञ्ज काँकडभिट्टा रुटका बस चालक दिलनाथ कटुवालले बताए ।

उनका अनुसार स्थानीयले सडक आसपासमा पशु चौपाया छाड्ने र पशु चौपाया हेरचाह कालागि गोठालो पनि नबस्दा दुर्घटनाको जोखिम झन् बढेको छ

highway1