विराटनगर : नेत्रविक्रम चन्द विप्लवका चौथो कम्पनी कमिसार पूर्वी कमान्डर सहित दुई जना हातहतियार सहित पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय प्रतीक भनिने काशीनाथ घिमिरे र इलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय सनम भनिने विज्ञान राई लाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार घिमिरे नेकपाको पूर्वी कमान्ड मेची-कोशी ब्युरो चौथो कम्पनीका कमिसार हुन् । उनीहरूलाई हिजो मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित बिजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

घिमिरे सप्तरी जिल्लाका पूर्व सेक्रेटरी पनि हुन् । यसै गरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको डिएसपी राईले जानकारी दिए ।

उनीहरूमाथि हातहतियार खरखजना सहित मिक्लाजुङका स्थानीय मानिसहरूसँग चन्दा असुल गरेको आरोप पनि लागेको छ । प्रहरीले उनीहरूको साथबाट हातहतियार खरखजना, विस्फोटक पदार्थ, विप्लव समूहको दस्ताबेज र वन्दोवस्तीका सामानहरू समेत फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फालमको टुक्रा १ बट्टा, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ (जिलेटिन) २ प्याकेट ३ केजीको, सुतली बम २ थान, १ थान सकेट बम, टुकी बम १ थान, ३५ थान इलेक्ट्रिक डेटोनेटर, १८ थान नन इलेक्ट्रिक डेटोनेटर, ६ थान लाईटर, १२ भोल्टको ब्याट्री, एक्सप्लोसिप गन पाउण्डर र बारुद्धसमेत ४ बट्टा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।