झापा : झापाबाट प्रतिनिधिसभामा राप्रपाका तर्फबाट प्रतिनिधित्व गरिरहेका सांसद राजेन्द्र लिङदेनले झापाका विभिन्न चार वटा अस्पतालहरूको अनुगमन गरेका छन् ।

उनले आज झापास्थित भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताल, भद्रपुरकै ओम साई पाथीभरा अस्पताल बिर्तामोडस्थित मनमोहन, बि एन्ड सी अस्पतालको अनुगमन गरे ।

स्थानीय नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थितिमा सांसद लिङ्देन विभिन्न अस्पतालहरूको अनुगमनमा निस्किएका हुन् ।

पछिल्लो समय कोभिड १९ को बहानामा झापाका अस्पतालहरूले सामान्य रोगका बिरामीलाई समेत भर्ना लिन नमान्ने परिपाटी बढ्न थालेपछि सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका थिए ।

तर बिरामीले उपचार नपाएर ज्यान नै गुमाउनु पर्ने अवस्था आउँदा सम्म अस्पतालहरूले न्यूनतम मानवीय संवेदनासमेत देखाउन छाडेको भन्दै सांसद लिङ्देन अनुगमनमा निस्किने योजना बनाएका थिए ।

उनले अनुगमनमा निस्किने कुरा केही समय अघि नै सामाजिक सञ्जालमै सार्वजनिक गरेका थिए र आफ्नो अनुगमनमा सहभागिता जनाउनका लागि झापाली नागरिकहरुलाईपनि आह्वान गरेका थिए ।