झापा : मोरङको उर्लाबारी नगपालिका वडा नम्बर ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको मूल गेटमै ताला लगाइएको छ ।

प्रतिष्ठानको स्थापना कालदेखि कार्यरत एक कर्मचारी मुक्तिनाथ दाहालले कार्यालय भित्रै आत्महत्या गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठान पक्ष र पीडित परिवार पक्ष बिच विभिन्न सहमति गरिएको थियो । तर उक्त सहमति कार्यान्वयनमा प्रतिष्ठान पक्ष गम्भिर नभएको भन्दै आजबाट पीडित परिवारले आन्दोलन थालेको हो ।

प्रतिष्ठानका सबै गेटमा ताला लगाउँदै मुक्तिका भाइ मदन दाहाल लगायतले भएका सहमति अक्षरशः तत्काल कार्यान्वयन गरिनुपर्ने माग राखेका छन् । उनीहरूले सबै कर्मचारीलाई आज बाहिर निकालेर बिहान ताला लगाएका छन् ।

यता प्रतिष्ठानले सहमति पूरा गर्न र घटनाको विषयमा यथार्थ पत्ता लगाउन एक समिति गठन गरिएको छ । समितिले दसैँ अघि २ दिन काम गरेको छ । यता सो प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलनमै रहेका छन् । त्यस्तै नेकपा उर्लाबारीले उच्च स्तरीय छानबिनको माग गर्दै आएको छ ।