धरान : बीपी प्रतिष्ठान धरानमा बेथिति बढेको चौतर्फी आलोचना भएपछि बिहीबार धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दवाब समूह गठन भएको छ ।

धरानको ड्रिमल्याण्ड होटलमा अभियन्ता चोत्लुङको पहलमा भएको भेलाले सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाको नेतृत्वमा १ सय १ सदस्यीय दबाब समूह गठन गरेको छ ।

सो समूहमा समूहमा धरानमा रहेका सामाजिक सङ्घसंस्था, नागरिक समाज, हरेक वडाका अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, राजनीतिक दल, पत्रकारहरू सामेल छन् । समितिका सदस्य सचिवमा अभियन्ता एवं पत्रकार महेश श्रेष्ठ रहेका छन् ।

यस्तै, समूहको ९ सदस्यीय स्टेरिङ कमिटी पनि गठन भएको छ । जसमा अध्यक्ष सापकोटासँगै सदस्य सचिव श्रेष्ठ, प्रा.डा.राजेन्द्र शर्मा, किशोर कुमार कार्की, सुजेन्द्र तामाङ, ताजुब लिम्बु, सञ्जुहांग लिम्बु, सविता राई र चेतना सेरेङ रहेका छन् ।

विशेष गरी पछिल्लो समय कोभिड-१९ अस्पतालको व्यवस्थापन तथा सञ्चालनमा लथालिङ्ग भएपछि चौतर्फी आलोचना भइरहेको बेला यो समूह गठन भएको हो ।

कोरोना सङ्क्रमितहरूले भेन्टिलेटर मात्र होइन, अक्सिजन भएको बेड पनि नपाएर विराटनगर जानुपर्ने र ज्यान गुमाउन थालेपछि धरानेहरु प्रतिष्ठानलाई सुधार गर्न तातिएका हुन् ।

प्रतिष्ठान सुधारको लागि समूहले दबाब सिर्जना गर्ने र त्यसको लागि भद्र अवज्ञालगायतका विभिन्न गतिविधिहरू गर्ने भएको छ । यो समूहले बीपीको कोभिड अस्पतालको मात्रै होइन समग्र प्रतिष्ठानको सुधारकालागि काम गर्ने बताइएको छ ।