धरान : पैगम्वर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो एक सूचना जारी गरी इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एक अर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरू भने प्रभावित भएका छन् ।

मोहम्मदको जन्म इस्वी संवत् ५७१ अप्रिल २० अर्थात् इस्लाम पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो ।

बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनी जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ ।

मुस्लिम अगुवाहरूले मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँग सार्वजनिक बिदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने हिजो ‘मोहम्मद डे’को शुभकामना सन्देश दिँदै सार्वजनिक बिदाको जानकारी गराएका हुन् ।

Suchana 2