धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिति बढेको भन्दै बिहीबार धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दबाब समूह गठन पछि आज प्रतिष्ठानले एक विज्ञप्ति जारी गरी बिरामी उपचारमा सबै प्रकारका सेवाका लागि क्रमगतरुपमा अगाडी बढाइरहेको जानकारी दिएको छ ।

प्रतिष्ठानको सूचना तथा सञ्चार केन्द्रले आज एक विज्ञप्ति जारी गरी दैनिक रूपमा बीपी प्रतिष्ठानका पदाधिकारीको कोभिड सम्बन्धी बैठक बस्ने र त्यसै अनुसार र्यापिड रेस्पोन्स टिमसँग समेत बैठक बसी समस्याको पहिचान गरी तत्काल समाधानको उपाय खोजेर नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नियमित तथा परिमार्जित रूपमा कोभिड बिरामीको उपचार तथा व्यवस्थापन गरिरहेको जनाएको छ ।

प्रतिष्ठानका अनुसार कोभिड अस्पतालमा २५ वटा हाई डिपेडेन्सी युनिट (एचडियु) विस्तार गर्ने तयारी भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यसै गरी, १० वटा थप भेन्टिलेटर जडान गर्ने पनि प्रतिष्ठानको दाबी छ । साथै, थप १० वटा नन इन्भेसिभ भेन्टिलेटर (एनआईभि) र ८ थान हाई फ्लो नजल क्यानुला (एमएफएनसि) पनि जडान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको छ भने अबको २ दिनभित्र जडान कार्य सम्पन्न हुने पनि विज्ञप्तिमा जनाईएको छ । यसै गरी, अक्सिजन पोर्टसहित थप ४० बेड क्षमता विस्तार गरिने जानकारी दिइएको छ ।

Bigyapti-1 Bigyapti-2