विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।

कोरोना सङ्क्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साँझदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भइरहेको आइसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भने,‘ नेपालमा कोरोना सङ्क्रमण देखा परे लगत्तै कोभिड अस्पताल निर्माण सुरु गरियो ।

संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आइसोलेसन केन्द्रहरू थप गर्दै लगिएको मन्त्री घिमिरेले बताए । निजी क्षेत्रसँगको साँझदारीमा अक्सिजन सहितको १ सय बेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टीकृत सेवा सहितको थप १ सय बेड निर्माणको काम भइरहेको जानकारी दिए ।

सङ्घीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टीकृत सेवा सहितको १ सय बेड तयार गरिने मन्त्री घिमिरेले बताए । मन्त्री घिमिरेले भने,‘ निर्माण कार्य धमाधम भइरहेकाले चाँडै सञ्चालन गरिने छ ।’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम सुरु गर्दा छिटो हुने बताए ।

अक्सिजन सहितको बेड तत्काल आवश्यक भएकाले सरकारी प्रक्रियामा ढिलो हुने भएकाले निजी क्षेत्रसँगको साँझदारीमा काम सुरु गरिएको प्रमुख पराजुलीले बताए । महानगर क्षेत्रमा सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह पनि प्रमुख पराजुलीले गरे ।

नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको बेड सञ्चालनका लागि काम भइरहेको बताए । सरकारले थप बेडको आवश्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनले बताए ।