धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा यही कार्तिक २६ गते मर्ज गर्ने निर्णय गरेको प्रति जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धरान खानेपानी आयोजनाको सुरुवात देखि नै पानीको दीर्घकालीन मुहान, बजेटको सही सदुपयोग, पारदर्शिता, जबाफदेहिता, कार्यसम्पादन र परिणामको विषयमा विरोध, सहमति, विवाद र छलफलको विषय बन्दै आई रहेको अवस्थामा तत्कालीन अवस्थामा धरान उपमहानगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी सङ्घर्ष समिति सँग ११ बुँदे सहमति गरे पश्चात् धरान खाने पानीआयोजनाले आफ्नो निर्माण कार्य अगाडी बढाएको थियो ।

उक्त सर्वदलीय तथा सर्वपक्षीय खानेपानी सङ्घर्ष समितिमा तत्कालीन सङ्घीय समाजवादी पार्टी हाल जनता समाजवादी पार्टी सहभागी पक्ष भएकोले धरान खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भए पछि विगत ९, १० महिना देखि पानी उत्पादन र वितरण गरी रहेको अवस्थामा ११ बुँदे सहमतिमा गरिएको प्रतिबद्धता अनुसार पुरा भएको छ कि छैन भनी विश्लेषण तथा मूल्याङ्कन गर्न धरान उपमहानगरपालिका लगायत सम्पूर्ण धरानवासी दाजुभाइ तथा दिदी बहिनहिरुमा हाम्रो पार्टी विनम्र आग्रह गर्न चाहान्छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धरान खानेपानी आयोजनाले प्रति दिन जमिनको भूमिगत श्रोतबाट ७ वटा नयाँ वेल मार्फत पानी उत्पादन गरी रिजर्भवेयरमा ९२ लाख लिटर पानी जम्मा गर्ने र धरान खानेपानी शाखाले उत्पादन गरी रहेको करिब १ करोड २० लाख २० हजार लिटर पानी गरेर जम्मा २ करोड १२ लाख २० हजार पानी वैज्ञानिक वितरण प्रणाली मार्फत २८ हजार धारामा दैनिक न्यूनतम १६ घण्टा ७ मिटरको प्रेसरमा पानी वितरण गर्ने आम धराने जनताहरूमा प्रतिबद्धता गरेको थियो ।

water-project1

तर हाल धरान खानेपानी आयोजनाले उत्पादन गर्ने ७ वटा नयाँ वेलबाट उत्पादन भएको पानी विभिन्न समयमा अनुगमन तथा मूल्याङ्कन गर्दा ६३–६४ लाख पानी मात्र रिजर्भवेयरमा जम्मा भएको पाइएको छ ।

यिनै कारणहरूले गर्दा धरान खानेपानी आयोजना प्रति धराने जनताहरूको विश्वास, आशा भरोसा गुमेको र आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको आशङ्का गरी रहेकोमा धरान नगर प्रमुख तिलक राईले विज्ञहरूको समिति निर्माण गरी उक्त समितिले आयोजना सफल वा असफलबारे अध्ययन गरी बुझाएको प्रतिवेदन पश्चात् मात्र नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गर्ने माग गरेको छ ।

जनता सामु गरेको सर्त र पटक पटकको प्रतिबद्धता पुरा नगरी नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गरेमा जनता समाजवादी पार्टीले त्यसको विरोध गर्ने छ र शसक्त आन्दोलन गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Bigyapti 3