धरान : कोरोना भाइरस सङ्क्रमण भएका पूर्व मन्त्री तथा काँग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

अहिले उनलाई ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको ३ दिन भएको छ । अहिले पनि उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् ।

कात्तिक १ गते ५३ वर्षीय पूर्व वाणिज्य मन्त्री तथा काँग्रेस नेता विश्वकर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएको ८ दिन नेता विश्वकर्मा होम आइसोलेसनमै बसेका थिए । होम आइसोलेसनमा बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल भर्ना भए । तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थिए ।

तर, उनको स्वास्थ्यमा सुधार नदेखिए पछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो । त्यहाँ पनि उनलाई एनआईभीमा राखिएको भए पनि स्वास्थ्यमा सुधार नआएकोले कार्तिक १५ गते देखि भेन्टिलेटरमा राखिएको छ ।

भेन्टिलेटरमा राखिएको तीन दिन बित्दा समेत स्वास्थ्यमा खासै फरक नदेखिएको बताउँदै सहयोगी उप्रेतीले भने स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जानकारी दिएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पूर्व मन्त्री एवं सांसद मीन विश्वकर्माको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लैजान सरकारसँग आग्रह गरेको भए पनि भेन्टिलेटरमा राखिएको बिरामीलाई अन्त उपचारका लागि लान नमिल्ने भएकोले ग्राण्डीमै उपचार जारी रहेको बताइएको छ ।

कोरोना सङ्क्रमणका कारण १२ गतेदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका विश्वकर्माको स्वास्थ्यस्थित शनिवार देखी थप जटिल बनेपछि काँग्रेसले दिल्ली नै लगेर भए पनि उपचार गर्न सरकारलाई आग्रह गरेको थियो ।