धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष गरी नेपाल भारतको खुल्ला सीमा र त्यसको आडमा हुँदै आएको लागुऔषधको कारोबार निस्तेज पार्न स्वीप अपरेशन चलाउँदै आएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध विरुद्ध शून्य सहनशीलता भन्दै वैशाख महिनाको अन्तिम साताबाट स्वीप अप्रेसन सुरु गरेका थिए ।

उनले सुनसरीको नेतृत्व सम्हाले यता दशैंसम्मको अवधिमा ठुलो परिमाणमा लागुऔषध सहित जिल्लाभरीबाट ८४ जना कारोबारीहरू पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरू सँगको बयानको क्रममा खुलेका नामलाई लिएर सुरु गरेको स्विप अप्रेसनको क्रममा मात्रै २८ जना मुख्य कारोवारीहरु समेत पक्राउ परेका छन् ।

पक्राउ परेकाहरू मध्ये ४१ जना कारोबारी पुर्पक्षको आदेशमा थुनामा छन् भने १८ जना धरौटीमा छुटेका छन् । त्यस्तै २५ जना लागुऔषध सहित पक्राउ परेकाहरूको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले तथ्याङ्क सार्वजनिक गरी जनाएको छ ।

सुनसरी प्रहरीले पछिल्लो दुई महिनामा लागूऔषध कारोबारीमा संलग्न निकै ठुलो नेटवर्कको पर्दाफास समेत गरेको छ । लागुऔषध विरुद्धको स्वीप अप्रेसनको क्रममा छोटो समयमै अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हात पारेको छ । लागुऔषध बरामद भएको सङ्ख्या र परिमाण जिल्ला प्रहरी कार्यालय सुनसरीको अहिलेसम्मको तथ्याङ्कको सबैभन्दा उच्च हो ।

सुनसरी हुँदै देशका विभिन्न प्रमुख सहरसम्मै लागूऔषध पुग्ने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाभर लागुऔषधको कारोबार गर्ने गिरोहलाई लक्षित गरी वैशाख महिनाको अन्तिम साताबाट स्वीप अप्रेसन थालेको थियो ।

थापाका अनुसार स्वीप अप्रेसनका क्रममा पक्राउ परेका कतिपय किशोरहरू अरूको उक्साहट र आर्थिक लाभको लोभमा कुलतमा फसेको पाइएका छन् । त्यस्ता व्यक्तिको हकमा प्रहरीले बानी र व्यवहार सुधार्न सम्बन्धित व्यक्तिलाई अभिभावकको जिम्मा समेत लगाउने गरेको प्रहरीले जनाएको छ ।