धरान : धरानको विकाशमा सक्रिय गोर्खा सैनिकहरूको अधिकारकालागि अग्र मोर्चामा रहँदै आएका समाजसेवी  तथा जनता समाजबादी पार्टीका नेता गजेन्द्र इस्बोको निधन भएको छ । 

केही दिन अघि कोरोना सङ्क्रमण देखिए पछि उनलाई उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा लगिएको थियो । उनको आज बिहान ४ बजे उपचारको क्रममा निधन भएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक सङ्घका पूर्व अध्यक्ष समेत रहेका ६३ वर्षीय इस्बो किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सचिव र हाल केन्द्रीय सल्लाहकार पनि हुन् ।

धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता उनी पछिल्लो समय जनता समाजवादी पार्टीबाट धरानको उपनिर्वाचनमा मेयरको उम्मेदवार पनि थिए ।

नेपालमा भएको भूपू गोर्खा सैनिकहरूको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्व इस्बोले गरेका थिए । धरानको विकास निर्माणमा लाहुरेहरूलाई सहभागिता गराउन पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ ।
उनी आदिवासी जनजातिहरूको राजनैतिक अधिकारको लागि पनि लड्ने अभियन्ता थिए । पछिल्लो समय जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष रहेका थिए । इस्वोले भुपु सैनिकहरूको गेसो, सहकारी, गोर्खा कम्प्लेक्स, ब्रिटिस गोर्खा पार्कको स्थापना र सञ्चालनको नेतृत्व पनि गरिरहेका थिए ।