धरान : कोशी पत्र दैनिकका निर्देशक तथा कोशी मिडिया ग्रुप प्रालिका निर्देशक योगेशबाबु काफ्लेले आफुले अध्ययन गरेको विद्यालयमा शिक्षा कोषका लागि सहयोग रकम प्रदान गरेका छन् ।

मङ्गलवार धनकुटाको महालक्ष्मी नगरपालिका ९ स्थित मुर्तिढुङगाको श्री सिंहदेवी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाको कोष स्थापनाका लागि पहिलो चरणको सहयोग गरेका छन् ।

काफ्लेले आफ्नो ३१ औँ जन्मदिनको अवसरमा स्वर्गीय हजुरबुबा कमलापति काफ्ले र हजुरआमा पुण्यवता काफ्लेको स्मृतिमा स्थापना गरिदिएको कमलापति पुण्यवता शिक्षा कोष स्थापना गरिदिएर पहिलो चरणको ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

कोषमा पहिलो चरणको ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको उनले बताए । जन्मदिनमा हुने अनावश्यक खर्चलाई कटौती गरेर आफ्नो हजुरबुबा र हजुरआमाको स्मृतिमा शिक्षा कोष स्थापना गरिदिएको उनको भनाई छ । काफ्ले नेकपा धरान उपमहानगर कमिटीका सदस्य समेत हुन् ।

उनी विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका हुन् । उनले कुल २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएका छन् । पहिलो चरणको ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै प्रत्येक वर्ष ५० हजारका दरले रकम प्रदान गर्ने बताए ।

काफ्लेका काका शङ्कर प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर भण्डारी, विद्यालयका संस्थापक अध्यक्ष अर्जुन भण्डारीलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा संस्थापक सदस्य भिमानन्द काफ्ले, मातृका प्रसाद काफ्ले, व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कोषका लागि कोशी मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक प्रेम बास्तोलाले ३० हजार, पञ्चायत आधारभूत विद्यालय धरान १६ का प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराईले २५ हजार, र्‍याडिकल लाइट नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले १० हजार रुपैयाँ थप सहयोग गरेका छन् । काफ्लेले २ लाख रुपैयाँ दिए पछि कोष २ लाख ६५ हजारको कोष खडा हुने भएको छ ।