धरान : कोरोना संक्रमित पुर्वमन्त्री तथा काँग्रेस सांसद मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । 

पाँच दिन देखि काठमाण्डौको ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखिएका उनको आज कोरोना रिपोर्ट पनि नेगेटिभ आएको र उनको होस पनि खुलेको विश्वकर्माका सहयोगी आकाश उप्रेतीले जानकारी दिएका छन् ।

उप्रेतीका अनुसार अब भोलि फेरि अर्को रिपोर्ट पनि नेगेटिभ आएमा नन कोरोना वार्डको आइसियुमा सारेर उपचार गरिनेछ ।

भेन्टिलेटरमा भने अझै केही दिन राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  कोरोना र निमोनियाका  कारणले उनको फोक्सोले राम्रो सङ काम गरेको थिएन । विश्वकर्माको फोक्सोले पनि अहिले काम गर्न थालेको जानकारी चिकित्सकले दिएका छन् ।

 गत कार्तिक १ गते कोरोना संक्रमित हुन पुगेका विश्वकर्मा कोरोना देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका थिए ।

त्यस पछि तीन दिन वीर अस्पतालमा उपचार गरिएकोमा कार्तिक १२ गतेदेखि उनलाई ग्रान्डिको आइसियुमा राखिएको थियो ।

विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार मङ्गलवार देखि टाउको उठाउन थालेका छन् । स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनले बताए ।