धरान : सुनसरीको तत्कालीन नरसिंह गाविस-४ का ५१ वर्षीय बुनिया भनिने करिम मियाँले २०६६ साल मङ्सिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका करिमलाई घटना भएको ११ वर्ष पछि हिजो कार्तिक १८ गते पक्राउ गरी आवश्यक कानुनी प्रकृया सुरु गरिएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

कसरी भयो हत्या ?

मियाँका २ श्रीमती थिए । माइती घरमा बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी उनी ससुराल गएका थिए । श्रीमती र २ छोराछोरी लिएर बाटोमा फर्कने क्रममा करिमको श्रीमतीसँग वादविवाद समेत भएको थियो । वादविवादमा मियाँले आमा छोरीलाई नै कुटपिट गरे ।

कुटपिट पछि उनकी श्रीमती बेहोस भइन । शरीरमा केही चोटपटक समेत थियो । ३ महिनाकी छोरीलाई उनले घाँटी थिचेर बेहोस पारे । बेहोस अवस्थामा छोरीलाई उनले केराबारीमा फालिदिएका थिए ।

केही समय पश्चात् होसमा आएकी श्रीमतीले आफ्नी नावालीका छोरीको शव देखिन । मियाँले घटना गोप्य राख्न श्रीमतीलाई अनेक मलजल गरे साथै मार्ने धम्की समेत दिएका थिए ।

कसरी पक्राउ परे ?

मियाँ नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

उनी कान्छी श्रीमती माइती गएको मौका छोपेर जेठी श्रीमतीलाई भेट्न आए ।

जेठी श्रीमती भेट्न आएको जानकारी जिल्ला प्रहरी कार्यालय सुनसरीमा आएपछि मियाँलाई पक्राउ गरेको घटनाका अनुसन्धान अधिकृत सरोज खनालले जानकारी दिए । यसअघि पनि एक पटक भेट्न आएर फर्किएको खुलेको छ ।

घटनाको ११ वर्ष पुरानो भएको र प्रारम्भिक अनुसन्धानमा रहेको तथा थप प्रमाणहरू जुटाउन लागि परेको खनालको भनाइ छ ।