विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटका सहित ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा इटहरी उप महानगरपालिका-११ का २५ वर्षीय प्यारचन्द चौधरी, २३ वर्षीय गणेश चौधरी र किराना पसल सञ्चालक तिहार मिया रहेका छन् ।

मियाको किराना पसलबाट प्रतिबन्धित विस्फोटक पदार्थ पटकाहरू भण्डारण, ओसार पसार तथा बिक्रिवितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बन्डल विभिन्न किसिमका पटका बरामद गरेको हो ।

पटका सहित पक्राउ परेका मानिसहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी कानुनी कारबाही अगाडी बढाइएको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी झापाको अर्जुनधारा र नकलबन्दा एरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उक्त मूल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरू आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उक्त कार्यालयले जनाएको छ ।