धरान : सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाता भित्रको क्वाटरहरूमा बसेका अनावश्यक व्यक्तिहरूलाई निकाल्न पनि निर्देशन दिएका छन् ।

प्रतिष्ठानमा कोरोना सङ्क्रमण फैलिनु प्रतिष्ठानको क्वाटरहरूमा बस्ने अनावश्यक व्यक्तिहरूको कारणले भएको भन्दै यस्तो निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । पदाधिकारीहरूले अनावश्यक व्यक्तिहरूलाई निकाल्न प्रक्रिया सुरु भइसकेको जवाफ दिएको उनले बताए ।

‘कोभिडको बेला अनावश्यक मान्छेहरू भित्र बसेका रहेछन् । कोही रिटायर भएर पनि बसिरहेका र कोही भ्रष्टाचार मुद्दा परेर निलम्बन भए पनि त्यही बस्ने रहेछन् प्रजिअ पोखरेलले भने,‘केही ठेकेदारका मान्छेहरूलाई कुनै समयमा निर्णय गराएर बस्न दिएको पनि छ रे, त्यस्ता मानिसहरूलाई निकाल्न भनेका छौँ, प्रतिष्ठानका पदाधिकारीले प्रक्रिया सुरु भइसक्यो भन्नु भएको छ ।’

प्रतिष्ठानको कोभिड-१९ अस्पताल र उपचारको बेथितिहरू सुधार भए नभएको बारेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूसँग आवश्यक जानकारी लिन बुधवार प्रमुख जिल्ला अधिकारीको टोली प्रतिष्ठान आएको थियो ।

विगतमा उठेका विषय तथा जनगुनासोबारे बुझ्न प्रतिष्ठान आएको प्रजिअ फडिन्द्रमणी पोखरेलले बताए । ‘पहिला उठाएको विषयहरू के भयो ? के हुदैछ ? भनेर आफूले पदाधिकारीलाई फोन गरेर प्रतिष्ठान आएको प्रजिअ पोखरेलले बताए ।

प्रजिअ पोखरेलका अनुसार पदाधिकारीहरूले बीपीको कोभिड अस्पतालमा बिग्रिएको भेन्टिलेटर बनिसकेको बताएका छन् भने थप १० वटा भेन्टिलेटर काठमाडौँ आइपुगेको र केही दिन भित्रमा आइपुग्ने बताएको पनि उनले बताए ।

कोभिड अस्पतालमा ६० बेड अक्सिजन सहितको तयार भइरहेको र अक्सिजन पाइप जोड्ने काम धमाधम भइरहेको पनि पदाधिकारीले जानकारी दिएको बताए । यसै गरी नयाँ अक्सिजन प्लान्ट थप्ने कार्य पनि सुरु भएको पदाधिकारीहरूले जवाफ दिएको प्रजिअ पोखरेलले बताए ।

कोभिड अस्पतालमा जनशक्तिको अभाव भनिएकोमा आउँदो शनिवार सम्ममा थप जनशक्तिको नाम निकाल्ने र थप जनशक्ति पदपूर्ति हुने पनि बताएका छन् ।

प्रजिअ पोखरेलसँगै सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल प्रतिष्ठान आएका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा. गौरीशङ्कर साह र रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले प्रतिष्ठानको पछिल्लो अवस्थाको बारेमा जानकारी दिएका थिए ।