धरान : सुनसरी जिल्लामा कोरोना सङ्क्रमण सङ्क्रमितकै कारण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना संक्रमित भएर पनि आइसोलेसनमा नबसेको पाएमा १ सय रुपैयाँ जरिवाना सहित एक महिना कैद सम्म गर्ने भएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितहरू होम आइसोलेसनमा बस्ने भन्दै सार्वजनिक स्थलहरूमा हिँडडुल गरेको भेटिएको र देखिएको पाइएको जनगुनासो आएकोले गर्दा संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार १ सय रुपैयाँ जरिवाना सहित १ महिना सम्म कैद गर्ने गरी कारबाही अगाडी बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।

यो ऐन अनुसार कारबाही अगाडी बढाउन दसैँ अघि देखिनै निर्देशन दिइसकिएको भए पनि कार्यान्वयनमा कडाइका साथ ल्याइएको थिएन । अव भने कडाइका साथ यो निर्देशनलाई लागु गर्ने प्रजिअ पोखरेलले बताए ।

पछिल्लो समय कोरोना सङ्क्रमितहरू खुलेआम हिँडडुल गरिरहेको र लक्षण विनाका सङ्क्रमितहरू पनि सार्वजनिक स्थलहरूमा हिडीरहेको हुनाले गर्दा कोरोना संक्रमणदर अत्यन्तै बढेकोले यो ऐनमा उल्लेख भएको नियमलाई कडाइका साथ लागु गर्न आफूले जिल्लाका सबै मातहतका निकायलाई निर्देशन समेत दिइसकेको प्रजिअ पोखरेलले बताएका छन् ।