धरान : फ्याकल्टी मेम्बरको प्रमोसनका लागी कार्यविधि बनिरहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताएका छन् ।

मेडिकल एन्ड डेन्टल वेलफेयर सोसाइटीको प्रोमोसनको मागका विषयमा पछिल्लो जानकारी दिँदै उपकुलपति गिरीले उक्त कुरा बताएका हुन । दसैँ तथा कोभिडका कारण केही ढिला भएको बताउँदै उनले काम पुरा हुन धेरै समय नलाग्ने समेत बताएका छन् ।

कार्यविधिकालागी वरिष्ठ कानुन विज्ञसँग छलफल भइसकेको र विज्ञको टिमले कार्यविधिकालागी काम गरिरहेको उनले जानकारी गराए ।

संस्था तथा फ्याकल्टी सदस्यको हितका लागी प्रमोसनको आवश्यक रहेको छ । दसैँ अघि नै तपाईँहरूको लागी स्वास्थ्य मन्त्रालयका सचिवसँग बैठक बसिसकेको छु ।’ उपकुलपति गिरीले भने, ’सचिवले कार्यविधि बनाएर ल्याएपछि छलफल बसाएर लोकसेवा आयोगलाई सिफारिस गर्ने बताएका छन् । कार्यविधिका लागी वरिष्ठ कानुन विज्ञसँग छलफल भइसकेको र विज्ञको टिमले कार्यविधिका लागी काम सुरु गरी सकेको छ ।’

यसकोलागी मन्त्रालयमा समय मिलाइसकेको र आइतबार नै यस विषयमा काम थप अगाडी बढाउन काठमाडौँ पुग्ने उपकुलपतिले बताए । 'म संवादमा छु, चुपचाप बसेको छैन । तपाईहरू प्रति म चिन्तित छु, समस्या समाधान गर्नका लागी आतुर छु' ।

उपकुलपति गिरीले भने, 'म तपाईँहरूको सबै पेपरहरू लिएर जाँदैछु र म एकै हप्ता बस्नुपरे पनि बस्नेछु । तपाईँहरूको मागलाई एउटा निष्कर्षमा पुर्‍याउनेछु । विविध कारण अलमल भएको हो तर काम पुरा हुनेछ, धेरै समय लाग्नेछैन ।' काम गरेर नै काठमाण्डौं फर्कने उपकुलपति गिरीले दाबी गरे ।

रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीका अनुसार उपकुलपतिले दिएको समयावधिमा स्वास्थ्य मन्त्रालय र लोकसेवाका सचिवलाई भेटेर पहल कदमी गरीसकेको बताए ।

'समय, परिस्थिति र गम्भीरता हेरी प्रमोसनको बागडोर भिसी सर आफैले लिनुभएको छ । निकै गम्भीर विषय भएकाले उपकुलपतिले आफै पहल कदमीमा लाग्नु भएको छ ।' रजिस्ट्रार रेग्मीले भने 'यो कुनै पनि व्यक्ति बिच मतभिन्नता भएर, नीतिगत भिन्नता भएर अड्केको होइन।'

'छलफल गर्दा फरक मत आउँछ, त्यसले नयाँ विकल्पको खोजी हुन्छ । फरक मतलाई बाहिर झगडा भयो भन्दै भ्रामक प्रचार भएको छ ।' छनौट समितिमा समस्या नरहेको उनले बताए ।

मेडिकल एन्ड डेन्टल वेलफेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रमोसनको विषयमा पहिले छनौट समिति नभएको भनी अड्किएकोमा अघिल्लो सिनेट बैठकबाट छनौट समिति गठन भएको थियो ।

समितिले काम गर्न नपाउँदै नयाँ उपकुलपति बहाली भएको र समितिले काम गर्नका लागी सदस्य सचिव रजिस्ट्रार चाहिने भनियो । रजिस्ट्रार नियुक्त भएपछि उनले संस्था सञ्चालनकालागी सिनेट आवश्यक रहेको र सिनेट लगत्तै प्रक्रिया अगाडी बढाउने आश्वासन दिइएको थियो । तर सिनेट सकिएको दुई महिना सकिँदा सम्म प्रमोसनका लागी काम नभएको उनको भनाई थियो ।