धरान : धरान उपमहानगरपालिकाको १४ नम्बर वडा कार्यालयले आधारभूत स्वास्थ्य केन्द्र धरान १४ लाई करिब ३ लाख बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

वडावासीहरूलाई कोरोनाका कारण कुनै समस्या नहोस् भनेर धरान उपमहानगर पालिका वडा नंं १४ वडा कार्यालयले सजगता अपनाउँदै वडावासीलाई भइपरी आउँदा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वडामै रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो ।

कोभिडको बिरामी बढ्दै जाँदा अस्पतालमा बिरामीले बेड नपाउने र बेड पाइहाले पनि अक्सिजन नपाइने अवस्था सिर्जना भएपछि अस्पतालमा सहज उपचार नहुन्जेल सम्मका लागि प्राथमिक उपचार वडावासीले घरैमा पाउन सकुन् भन्ने उद्देश्यका साथ वडावासीको सहजताका लागि त्यस्ता सामाग्री वडाले खरिद गरेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

दुई वटा अक्सिजन कन्सनट्रेटर, एउटा निवुलाइजर मेसिन, अक्सिजनको मात्रा चेक गर्ने पल्स अक्सिमिटर, मास्क, थर्मोमिटर, पिपिई, घर कोठालाई सेनिटाईज गर्ने स्टिम गन लगायतका सामाग्री वडावासीलाई समस्या भएको समयमा तत्काल उपलब्ध गराउन सकिने गरी वडाले खरिद गरेको अध्यक्ष भट्टराईले बताए ।

संक्रमित बिरामीको शरीरको अक्सिजनको मात्रा चेक गर्न, बच्चा तथा वृद्धाहरुलाई चिसोका कारण हुने निमोनियाबाट बचाउन प्रयोग गर्न सहयोग पुग्ने सामाग्रीहरू रहेका छन् ।

वडाको आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख चन्द्रकला राईले अहिले लक्ष्मणसहितको कोरोना संक्रमित बिरामी बढ्न थालेसँगै बिरामीलाई अक्सिजनका कारण समस्या नहोस्, वडामै अस्पतालमा हुने प्राथमिक उपचार गराउन यो उपकरणले सहज हुने बताइन् ।

कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण बढ्दै जाँदा मृत्युदर समेत बढेसँगै वडाले पूर्व तयारी स्वरूप यी सामाग्री १४ नम्बर वडाले खरिद गरेको हो ।

दुई वटा अक्सिजन कन्सनट्रेटरबाट बिरामीलाई घरमै गएर अक्सिजन दिन सकिने भएकोले अक्सिजन दिनुपर्ने अवस्थामा पुगेको कोभिडका बिरामीलाई आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई घरैमा पठाएर सो सेवा १४ नम्बर वडाले दिने वडाध्यक्ष भट्टराईले बताए ।

Stim-Gun Suwastheya-samagri-1