विराटनगर : सुनसरी-मोरङ सिचाई आयोजनाको नहरको डिलबाट विस्थापित भएका ३४ सकुम्बासी परिवारले नयाँ घर पाएका छन् ।

आयोजनाको मोरङ ग्रामथान गाउँपालिका खण्डको नहरको डिलमाबाट विस्थापित भएका ३४ परिवारले एकीकृत नमुना बस्तीमा नयाँ घर पाएका हुन ।

अति विपन्न तथा सुकुम्वासी परिवारका लागि मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य सांसद अमनलाल मोदीको पहलमा वडा नम्बर – ७ मा एकीकृत नमुना बस्ती निर्माण पछि हस्तान्तरण गरिएको हो ।

नहरको डिलबाट दुई वर्षअघि विस्थापित भएका ३४ परिवारले टिनको छानो, एट्याच बाथरुम र शौचालय सहितको तीन कोठाको घर पाएका छन् । ३४ परिवारलाई शुक्रवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बस्ती हस्तान्तरण गरे ।

एकीकृत बस्तीमा ३ करोड ४ लाख लागतमा बस्ती निर्माण भएको हो । २०७५–७६ मा निर्माण सुरु गरिएको बस्ती निर्माणका लागि सांसद अमनलाल मोदीले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको १ करोड १९ लाख विनियोजन गरेका थिए ।त्यस्तै तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत ६७ लाख ९ हजार र ग्रामथान गाउँपालिकाले १ करोड १७ लाख विनियोजन गरेको हो ।

स्थानीय प्रमीलाकुमारी चौधरीको परिवार पनि मजदुरी गर्छ । नहरको डिलबाट लखेटिएपछि उनी खोलाको छेउमा झुप्रो बनाएर बस्दै आएकी थिइन् । नमुना बस्तीमा टिनको छाना लगाएको घर पाएपछि उनी दङ्ग छिन् ।
अमृताकुमारी खवास र उनका श्रीमान् मजदुरी गर्छन् ।

घर निर्माणमा मजदुरको काम गर्ने उनको परिवार दुःखले चलेको थियो । तर घर बनाउन सक्ने अवस्था थिएन । नमुना बस्तीमा घर पाएकीमा उनी दङ्ग छिन् । ‘हामी मजदुरी गर्छौँ, यस्तो घरमा बस्ने सोचेको थिएनौँ ।’ उनले भनिन् ‘नयाँ घर पाउँदा खुसी छौँ ।’

मोरङ क्षेत्र नम्बर– ४ का प्रतिनिधि सभा सदस्य मोदीको अग्रसरतामा दुई वर्ष अघि एकीकृत नमुना बस्ती निर्माणको काम थालनी भएको थियो । निर्माणको काम लगभग पुरा भएको नमुना बस्तीमा सुकुम्वासी परिवारले नयाँ घर पाएका हुन । बस्तीसम्म पुग्नका लागि सडक निर्माण गरिएको छ ।

एट्याच शौचालय र बाथरुमसहितको तीन कोठाको घरमा परिवार बस्न थाले पनि खानेपानी, विद्युत र शौचालय जडानको काम पुरा भएको छैन । खानेपानी र शौचालय नहुँदा समस्या भएको स्थानीय सन्तोष सरदारले बताए । उनका अनुसार घर भित्र शौचालय निर्माण भए पनि हजसम्म पाइप जडान भएको छैन । खानेपानी र विद्युतको पनि समस्या भएको उनले बताए ।

ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले एक महिना भित्र शौचालय र खानेपानीको काम सकिने बताएका छन् । नमुना बस्तीमा केही काम बाँकी रहेको बताउँदै उनले चाडै शौचालय, खानेपानी र विद्युतको काम चाडै पुरा हुने बताए ।

Basti-hastantaran