धरान : झापाको शिवसताक्षी नगरपालिकामा कोरोना सङ्क्रमणबाट ल्याबमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया युवतीको गए राति नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार सेर्माले जानकारी दिएका छन् । कात्तिक १३ गते उनमा कोरोना पुष्टि भएको थियो ।

युवती दुधे स्थित एक निजी स्वास्थ्य संस्थाको ल्याबमा कार्यरत रहेको बताइएको छ । उनमा पहिले कुनै दीर्घ रोग नभएको बताइएको छ ।

यो सँगै शिवसताक्षी नगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको नगरप्रमुख सेर्माले जानकारी दिए । उनका अनुसार अहिले सम्म १५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ ।