धरान : धरान उपमहानगरपालिकामा आज दिउसो थप १२ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज दिउसो थप १२ जना कोरोना संक्रमित थपिएर धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३०७२ पुगेको छ ।

धरानमा आज थप एक जना होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित बृद्धा महिलाको मृत्यु भएको छ ।

धरान ९ बगैँचा चौक निवासी ६७ वर्षीय एक बृद्धा महिलालाई कोरोना सङ्क्रमण भएपछि होम आइसोलेसनमा बसेकीमा हिजो अचानक स्वास्थ्यमा समस्या भएपछि बीपीको कोभिड अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको बीपीमानै मृत्यु भएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए ।

मृतकको आजै शव व्यवस्थापन भइसकेको बताइएको छ । वडाध्यक्ष कटुवालका अनुसार धरान ९ मा मात्रै कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ । धरानमा यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।