धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निकै विवादित र पेचिलो बनेको स्टाफ नर्स पदपूर्ति कार्य सम्पन्न गरेको छ ।

कोभिड अस्पताल तथा विभागकालागी आवश्यक स्टाफ नर्स पदपूर्तिको लागि लिएको अन्तर्वार्ताबाट ७५ जनालाई छनौट गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

छनौटका लागी अन्तिम प्रक्रिया अन्तर्वार्ता बिहीबारबाट सुरूभई शनिवार सम्पन्न भएको थियो । अन्तर्वार्ता सकिए लगत्तै शनिवार नै छनौट भएकाहरूको नतिजा प्रकाशित गरिएको छ । यसअघि कार्तिक १८ गते भएको लिखित परीक्षामा २ सय १८ जनाले नाम निकालेका थिए ।

अन्तर्वार्ता भने ५ जना अनुपस्थित रहेको र जम्मा २ सय १३ जनाबाट ७५ जना छनौट भएको प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले जानकारी गराए ।

छनौट भएका बाहेक अन्य सबैलाई प्रतीक्षा सूचिमा राखिएको छ । उम्मेदवारलाई रजिस्ट्रार सहित अस्पताल निर्देशक प्रा. डा. गौरीशङ्कर साह, नर्सिङ चिफ तारा साह र मेट्रोन गायत्री राईले अन्तर्वार्ता लिएका थिए । यसअघि छनौटको पहिलो प्रक्रिया लिखित परीक्षामा ४ सय ८९ जना सहभागी भएका थिए ।