धरान : कोरोना सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङ नहुँदा प्रदेश १ मा कोरोना सङ्क्रमण तीव्र गतिमा बढेको बताइएको छ ।

यस भन्दा अघि कोरोना सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङ गरेर उ सँग सम्पर्कमा रहेकाहरूलाई कन्ट्रयाकमा राखी उसको स्वास्थ्य परीक्षण गर्ने गरिन्थ्यो ।

तर पछिल्लो समय स्थानीय सरकार पालिकाहरूले आफ्नो पालिकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या मात्रै गने र सङ्क्रमितको सम्पर्कमा आएकाहरूलाई नगनिँदा र कन्ट्रयाक ट्रेसिङ नगरिँदा संक्रमित बढेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँले बताए ।

उनका अनुसार प्रदेश नं। १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६ सय १५ पुगेको छ । प्रदेश १ को कुल संक्रमित मध्ये सुनसरी, मोरङ र झापामा मात्रै ८७ प्रतिशत संक्रमित रहेका छन् । यी मध्येबाट १३ हजार ५ सय ७३ जना संक्रमित निको भइसकेका छन् ।

संक्रमित र निको भएकाहरूको तथ्याङ्कलाई हेर्ने हो भने ७ हजार ८ सय ५ जना आइसोलेसनमा रहनु पर्ने हो । तर अहिले करिब २ सय जना आइसोलेसनमा बसेको रेकर्ड छ भने बाँकी १ सय ५० जना अस्पतालमा उपचाररत छन् ।

बाँकी संक्रमित काहा र कुन अवस्थामा छन् रेकर्ड नहुनु नै कोरोना सङ्क्रमणको मुख्य कारण भएको प्रमुख प्रसाईँले बताए । प्रदेश नं. १ मा ८७ बेडको आइसियु, ३० वटा भेन्टिलेटर छन् । अहिले सम्म आइसियुमा ४४ जना र १० जनाको भेन्टिलेटरमा उपचार भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पालिकाहरू कन्ट्रयाक ट्रेसिङ छाडेर संक्रमित गन्न थाले :
सुरुका दिनमा कुनै ठाउँमा कोरोना संक्रमित भेटिएको खण्डमा त्यस ठाउँलाई संवेदनशील क्षेत्र मानी उनीसँग सम्पर्कमा आएकाहरूलाई कन्ट्रयाक ट्रेसिङ गरी स्थानीय निकायले सङ्क्रमण नियन्त्रणका लागि काम गर्ने गर्दथ्यो ।

तर पछिल्लो समय कन्ट्रयाक ट्रेसिङ भन्दा पिसिआर परीक्षणमा स्थानीय सरकार लाग्यो । यसरी पिसिआर परीक्षण गर्दा पनि लामो समय सम्म रिपोर्ट नआउँदा पिसिआर परीक्षण गरेका सङ्क्रमितहरूबाटै कोरोना समुदायमा फैलिएको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

कतिपयको त कोरोना सङ्क्रमण छ की छैन भनेर परीक्षण गराएर रिपोर्ट सम्बन्धित पालिकामा आइसकेको भए पनि ५ दिन पछि मात्रै सङ्क्रमितलाई जानकारी दिने गरिएको छ । यसले गर्दा झन् कोरोना सङ्क्रमण फैलिने गरेको छ । मुख्य कुरा सङ्क्रमितको कन्ट्रयाक ट्रेसिङ नहुनु नै कोरोना सङ्क्रमण फैलिनुको मुख्य कारण हो ।

स्वास्थ्य निर्देशानलयलाई निष्क्रिय बनाइयो :
यो महामारीको बेलामा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको स्वास्थ्य निर्देशानलयलाई निष्कृय बनाइएको छ ।

मन्त्रालय मातहतमा रहेका प्रशासकहरू कोरोनाको नियन्त्रण र न्यूनीकरणका लागि खटाइएको छ । यसमा पनि विशेष गरेर स्वास्थ्यकर्मी नै हुनुपर्ने हो तर प्रशासन तिरका मानिसलाई खटाइनुले पनि रोग नियन्त्रणको चुरो समाउन नसकेको बताइन्छ । स्वास्थ्य निर्देशनालय धनकुटालाई यो बेलामा सक्रिय बनाउनुपर्ने स्वास्थ्यविज्ञहरुको भनाई छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि कन्ट्रयाक ट्रेसिङ अत्यन्तै जरुरी : 
स्थानीय पालिकाहरूले कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि कन्ट्रयाक ट्रेसिङ गर्न अत्यन्तै जरुरी भएको छ ।

कोरोना सङ्क्रमितसँग नजिक रहेका व्यक्तिहरूको कन्ट्रयाक ट्रेसिङ गरी उनीहरूको निगरानी गर्नुका साथै सङ्क्रमितको पनि निगरानी स्थानीय निकायहरूले गर्नुपर्छ । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितको होम आइसोलेसन कत्तिको सुरक्षित छ ? तोकिएको मापदण्ड पुगेको छ की छैन भन्ने बारेमा स्थानीय सरकारले चासो लिनुपर्छ ।

कोरोना सङ्क्रमितको दैनिक अनुगमन, निगरानी र कन्ट्रयाक ट्रेसिङलाई निरन्तरता दिन सक्यो भने मात्रै कोरोना संक्रमणदर नियन्त्रण हुन सक्ने स्वास्थ्य विज्ञहरूको भनाई छ ।