धरान : कोरोना संक्रमणदर झन् झन् बढ्न थालेपछि सुनसरी प्रशासनले भोलि देखि मङ्सिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

यस भन्दा अघि जिल्लामा निषेधित क्षेत्र मात्रै घोषणा गरिँदै आएकोमा यस पटक भने तिहार र छठ पर्वमा हुन सक्ने सामूहिक भेला र जम्मा भएर गरिने कुनै पनि क्रियाकलाप गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।

कोरोनाको कारण सृजित विषम परिस्थितिका कारण नेपालीहरूले मनाउँदै आइरहेको दीपावली तथा छठ पर्वमा विभिन्न शक्तिपिठ, मन्दिर तथा समाजमा सामूहिक रूपमा गरिने पूजाआजामा दैनिक एक व्यक्तिद्वारा गरिने नित्य पूजा बाहेक भेला जम्मा हुन नपाइने सूचनामा उल्लेख गरिएको छ ।

मन्दिर र शक्ति पीठ र पण्डालमा एक व्यक्तिद्वारा गरिने नित्य पूजाआजा बाहेक अन्य कार्य गर्न मस्जिद तथा चर्च लगायतका धार्मिक क्रियाकलाप गरिने क्षेत्रमा भेला र जम्मा हुन नपाइने, गुम्बाहरूमा भेला जम्मा हुन र पूजा आज गर्न नपाइने, भक्ति सङ्गीत लगायतका कार्यहरू गर्न नपाइने, भजन, कीर्तन, अनुष्ठान गर्न नपाइने, देउसी, भैलो खेल्न नपाइने, मेला जात्रा सञ्चालन गर्न नपाइने, राजनैतिक दलहरूबाट गरिने कार्यक्रमहरू सञ्चालन नपाइने,शुभकामना आदान प्रदान गर्न, उद्घाटन र शिलान्यास गर्न नपाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसै गरी सामूहिक रूपमा भेला जम्मा भएर गरिने कुनै पनि क्रियाकलाप,पटका तथा विस्फोटक पदार्थ ओसार पसार बिक्री वितरण तथा प्रयोग गर्न, नदी, तलाउ, तथा पोखरी, नहर आसपासमा भिडभाड गरी पूजाआजा गर्न नपाइने र नियमको उलङ्घन गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।  Nisedhagya-Suchana