विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरूले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् ।

उनले अस्पतालहरूले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरी काम गर्न समेत निर्देशन दिए । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेश स्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए ।

मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए ।

पछिल्लो अढाई वर्षमा अस्पतालहरूले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेकोमा उनले जोड दिए । मन्त्री घिमिरेले भने,‘ प्रदेश सरकार गठन पछिको अढाई वर्षकै समीक्षा आवश्यक छ ।’ उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिए । स्वास्थ्यकर्मीलाई घर घरमा गएर बिमा गर्न सुझाव दिएका छन् ।

मन्त्री घिमिरेले भने ‘ घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य बिमा गर्नुहोस् ।’ निजी अस्पतालले दिने सेवा भन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेको आग्रह छ । उनले प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियू सहितको ५ सय बेड विस्तारको तयारी गरिरहेको पनि बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासङ्घ प्रदेश १ का अध्यक्ष बवि चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता लगायतले आ आफ्नो धारणा राखेका थिए ।