धरान : धरान उपमहानगरपालिकाले धरानमा थप २१ जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख उमेश मेहताका अनुसार समुदायमा सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढेको हुँदा र कुनै पनि नगरवासी आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित नहुन भन्ने उद्देश्यले थप कर्मचारी परिचालन गरिएको बताए । उपमहानगरपालिका अन्तर्गत हाल नयाँ परिचालन गरिएका स्वास्थ्यकर्मी सहित ७५ जना स्वास्थ्यकर्मी नगर क्षेत्रमा खटिएका छन् ।

धरानका सरकारी अस्पताल,आधारभूत स्वास्थ्य केन्द्र,तथा विभिन्न स्वास्थ्य संस्थामा आबद्ध कर्मचारहिरुलाई नै तालिम दिएर नगरमा परिचालन गरिएको हो । धरान-८ र १५ मा धेरै संक्रमित भएकाले २-२ जना कर्मचारी परिचालन गरिएको छ ।

इन्टरनेट चलाउन सक्ने तथा भर्चुअल मिटिङमा कुरा गर्ने सक्ने तथा जसले बिरामीहरूलाई अनुरोध गर्न सक्ने व्यक्तिहरूलाई २०७७/०७/०५ गते तालिम दिएर छनौट गरिएको मेहताले बताए ।

नयाँ कर्मचारीहरूले कोरोना सङ्क्रमित भएपछि अपनाइने सुरक्षाहरू, खान हुने-खान नहुने खाद्यान्नहरू, मास्क लगाउने तरिका, सरसफाइ, औषधी सेवन, पुनः कति दिनमा परीक्षण, तथा शारीरिक अवस्था बुझ्दै साह्रो गाह्रो भएको अवस्थामा त्यसको विकल्प खोजी सहयोग गर्ने छन् ।

२१ जनाको स्वास्थ्य टोलीले बिरामीहरूसँग गरेको परामर्श सहयोग नपुगेमा वा पूर्ण हुन नसकेमा उनीहरूले सम्बन्धित रोग विशेष विशेषज्ञ चिकित्सकहरूलाई खबर गराउने गर्दछन् ।

धरान उपमहानगरपालिकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ डाक्टरहरूलाई निःशुल्क सिम कार्ड दिएर सल्लाह सुझाव लिइरहेको मेहताले बताए ।

हाल परिचालन भएका कुनै पनि कर्मचारीहरूलाई तलब नदिएको तर धरान उपमहानगरपालिकाले उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उक्त २१ जना कर्मचारीको कार्यकाल एक वर्षसम्म रहने मेहताले बताए ।