धरान : आज १३६ औँ फाल्गुनन्द दिवसको अवसरमा प्रदेश १ मा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज फाल्गुनन्द दिवसको दिन प्रदेश भरी बिदा दिने निर्णय अगाडीका वर्षहरूमा नै भएको जानकारी दिएको छ । सार्वजनिक विदाबारे राजपत्र र प्रदेश क्यालेन्डरमा समेत उल्लेख गरिएको छ ।

यसपटक कोरोना महामारीको कारण फल्गुनन्द जन्मजयन्ती सामुहिकरुपमा भने मनाईएन । किरात धर्म तथा सहित्य उत्थान संघ र किरात याक्थुङ चुम्लुङ लगायतका संघसंस्थाहरुले सिमित कार्यक्रम गरी जन्म दिवस मनाउदैछन् ।

falgunanda-jayanti-bida

को हुन् फाल्गुनन्द ?
समाज सुधारकका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देन नेपाल सरकारबाट वि.सं.२०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित भएका हुन् ।

महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसं १९८८ वैशाख २५ गते पाँचथरको लब्रेकुटीमा मांसाहारी र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो । यो घटनालाई ‘सत्य हाङ्मा ९धर्म० मुचुल्का’का रूपमा चिनिन्छ ।

करिब ८ दशक अघि किरात समुदायका अगुवाहरूलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमति पत्रमा सहीछाप गराउनु पक्कै पनि सामान्य थिएन ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतका नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनुपर्ने, सिरिजंगा लिपि प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधार अभियान चलाएका थिए ।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर फाल्गुनन्दले लैङ्गिक समानताको वकालत गरेका थिए ।

समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंसमति र बुवा जनबाज लिम्बुको साइँला सन्तानका रूपमा भएको थियो । उनी ८ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए ।
न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्द नामबाट भर्ती भएका थिए ।

बेलायती सेनामा केही वर्ष काम गरेका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागिरबाट राजीनामा दिई धार्मिक सुधार अभियानमा लागेका थिए । यस क्रममा उनी भारत र भुटानसम्म पुगेको बताइन्छ ।

नेपाल सरकारले विसं २०५० मा महागुरु फाल्गुनन्दका नाममा सम्मान स्वरूप १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो । विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहररूका लागि सरकारी सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।