विराटनगर : मोरङ जिल्लामा एकै दिन नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मंगलबार बिहान विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

विराटनगरमा मृत्यु भएका आठ जना अस्पतालमा थिए । सुन्दरहरैंचाका सङ्क्रमितको घरमै मृत्यु भएको हो । सङ्क्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा दुई जना र न्युरो अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

झापा गौरादह-५ का ६५ वर्षीय वृद्ध पुरुषको नोबेलमा मंगलबार बिहान ८:२५ बजे मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो ।

तेह्रथुमको म्याङ्लुङ-१० का ५७ वर्षीय सङ्क्रमित पुरुषको पनि मंगलबार बिहान करिब ८:२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताए ।

झापाको हाल्दिबारी-४ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि १५ कात्तिकमा नोबेल भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा-३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी २२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा मंगलबार बिहान करिब ५स्३० बजे मृत्यु भएको जानकारी दाहालले दिए । मृतकमा दिर्घरोगको समस्या थिएन ।

नोबेलमै मोरङको रतुवामाई नगरपालिका-९ का ७७ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान ६:३० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको सोही दिन रिपोर्ट पोजेटिभ आएको दाहालले बताए ।

सुनसरीको इटहरी-५ की ६९ वर्षीय वृद्धको विराटनगरको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि कोसीमा भर्ना गरिएको थियो ।

कोसीमै विराटनगर-३ का ७७ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका वृद्धका मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।मोरङको कटहरी-२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । उनको सोमबार राति ९:५० बजे मृत्यु भएको छ ।

निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । निमोनियाको सङ्क्रमण रहेका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मोरङकै सुन्दरहरैँचा-७ की ७७ वर्षीया वृद्ध महिलाको आफ्नै घरमा ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७:३० बजेतिर मृत्यु भएको हो । मृतकमा ज्वरो, निमोनिया, श्वासप्रश्वासको समस्या थियो ।