विराटनगर : प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि ५ सय बेड थप गर्ने तयारी गरेको छ ।

प्रदेशभरि अक्सिजन, आइसियु र भेन्टिलेटर सहितका बेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । कोरोना सङ्क्रमितले अक्सिजन, आइसियु र भेन्टिलेटरको खोजी गर्न थालेको उनले बताए ।

प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरूको वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा आज मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै उनले प्रदेश भरि ५ सय बेड विस्तार गर्ने तयारी गरिएको बताए ।

कोरोना सङ्क्रमण एकनास नभएकाले सङ्क्रमणको अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई पनि निर्देशन दिए । मन्त्री घिमिरेले भने,‘ तेह्रथुमको आठराई र विराटनगरमा सङ्क्रमणको अवस्था फरक छ ।’

अबको चुनौतीलाई सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवश्यक रहेको उनको भनाई छ । उनले कोरोना सङ्क्रमणको कारण विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले भने जस्तो भन्दा पनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजी गर्न आवश्यक रहेकोमा जोड दिए । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उनले गुनासो गरे ।

कार्यस्थलमा स्वास्थ्य सावधानी अपनाएको नपाइएको मन्त्री घिमिरेले बताए । समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरूले ध्यान दिनुपर्ने बताए । स्वीकृति दिँदा मापदण्ड अनुसार भए नभएको हेर्ने र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताए ।