धरान : धरानमा मङ्गलवार साँझ फेरि २५ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार यस भन्दा अघि सोमबार २७ जना थपिएका थिए । यसैगरी मङ्गलवार साँझ २५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१५७ पुगेको छ ।

थपिएका सङ्क्रमितहरूको एन्फा क्वारेनटाइन र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट मङ्गलवार साँझ २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

धरानमा अहिले सम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

बीपीमा लाहानका कोरोना सङ्क्रमितको मृत्यु : 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सिराहाको लाहानका ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा। आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार मङ्गलवार दिउसो २:२० मा उपचारको क्रममा लाहान-२ सिराहा निवासी ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।