धरान : राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ लिम्बुको कोरोना सङ्क्रमणका कारण आज निधन भएको छ ।

धरान-१८ क्याप गेट नजिकै रहेको उनको निवासमै आज बिहान निधन भएको धरान-१८ का वडाध्यक्ष प्रवीण राईले बताए । ९२ वर्षीय लिम्बुमा पहिले देखिनै दीर्घ रोग भए पनि आइतबार स्वास्थ्यमा थप समस्या देखिए पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । आज बिहान होम आइसोलेसनमै लिम्बुको निधन भएको बताइएको छ ।

लिम्बुको शव व्यवस्थापनका लागि धरान उपमहानगरपालिका र नेपाली सेनासँग समन्वय भइरहेको र आज दिउसो १ बजे सम्ममा शव व्यवस्थापन गर्ने तयारी भइरहेको वडाध्यक्ष राईले बताए ।