इटहरी : कोरोना सङ्क्रमणको दर दिनानुदिन फैलिरहेको भन्दै सुन्दरहरैचा नगरपालिकाले सजग हुन आग्रह गरेको छ ।

नगरपालिकाले तिहार तथा छठ पर्वमा भिडभाड नगर्न नगराउन हुन नगरवासीलाई अनुरोध गरेको हो । देउसी भैलो, नाचगान जस्ता कार्यले कोरोना सङ्क्रमण फैलिन सहयोग गर्ने भएकोले त्यस्ता कार्य नगर्न भनिएको हो ।

मोरङ जिल्ला कोभिड-१९ व्यवस्थापन समिति तथा सल्लाहकारहरूको कार्त्तिक १८ गते बसेको बैठकले चाडपर्वमा हुने भिडभाडलाई रोक्ने निर्णय गरे अनुसार नगरपालिकाले अनुरोध गरेको हो ।

छठ पर्वमा नदी, तलाउ, नहर तथा पोखरीमा अत्यधीक भिडभाड हुने भएकोले यस पटक घरैमा बसेर पर्व मनाउन आग्रह गरिएको छ ।

विनम्र आग्रहको उल्लङ्घन गरेको पाइएमा प्रहरी प्रशासन बाट कानुन बमोजिम कारबाही हुने नगरपालिकाले जानकारी गराएको छ ।