धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा बरामद गरिएको लागु औषध र पट्का तथा बिस्फोटजन्य पदार्थ नष्ट आज गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापा जिल्लामा आएपछि झन्डै ६ महिने कार्यकालमा बरामद गरिएको लागु औषध, कटान गरिएको गाँजा, हातहतियार र घरेलु मदिरा समेत पत्रकार सम्मेलन गरी नष्ट गरिएको छ ।

प्रहरीले सीमा क्षेत्रमा बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न थालेको अभियान अन्तर्गत लागु औषध, गाँजा फडानी, हातहतियार नियन्त्रण, राजस्व छली, आतिसबाजीका समानहरू, राजस्व, घरेलु मदिरा सहितमा निगरानी बढाएकाले बरामद गरिएको समानहरू एकीकृत रूपमा नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

थापाले जिल्लामा जिम्मेवारी सम्हाले पछि वैशाख २४ गते यता १५ प्रकारका लागु औषधको दुई हजार ६ सय ५३ एम्पुल, ३ सय ८३ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, १२ हजार ९ सय ८३ क्याप्सुल, १२ हजार ६७ टयाबलेट, १ हजार ८ सय ९ बोतल डायलेक्स डिसी र २ बोतल फेन्सीडिल बरामद गरेको जानकारी दिए ।

प्रहरीले बरामद गरेको लागु औषधमा ६० थान मुद्दा चलाएकोमा ९३ जनालाई नियन्त्रणमा लिई लागु औषध ओसार पसार ऐन अन्तर्गत कारबाही गरेको थापाले बताए ।

प्रहरीले लागु औषध नियन्त्रणसँगै गाँजा फडानी समेत गरेको जनाएको छ । प्रहरीले कार्तिक २१ गतेबाट थालेको गाँजा नष्ट अभियान अन्तर्गत १५ हजार ५ सय २९ बोट काटेर नष्ट गरेको छ ।

त्यसै गरी विस्फोटक पदार्थ ओसोर( पसार तथा कारोबार गर्ने ७ जनालाई कारबाही गरेर २ वटा मुद्दा चलाएको छ । प्रहरीले खुर्सानी पट्का ९५ बन्डल, १ थान पेस्तोल, २ थान गोली समेत बरामद गरी कारबाही गरेको छ । प्रहरीले राजस्व छली गरी ल्याएको समानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाउने क्रम समेत जारी राखेको छ ।

अघिल्लो आर्थिक वर्षमा १ करोड ७९ लाख १ हजार ४ सय ११ रुपैयाँको समान बरामद गरेकोमा चालु आर्थिक वर्षमा १ करोड ६२ लाख ७० हजार ७ सय २८ रुपैयाँ बराबरको समान राजस्व बुझाएको प्रहरी उपरीक्षक थापाले बताए ।

त्यसै गरी छठ र तिहारका लागि ल्याइएको अवैध फट्काजन्य पदार्थ २ सय ६२ बन्डल नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ । त्यसै गरी चालु आर्थिक वर्षमा उजुरी छानबिन शाखामा आएको २ सय ४४ उजुरीमा १ सय २८ थान फर्छ्यौट भएको र १ सय १६ थान बाँकी रहेको जनाएको छ ।

महिला तथा बालबालिका सम्बन्धी उजुरी १ सय ८१ थान परेकोमा १ सय १५ थान फर्छ्यौट भएको र ६६ थान बाँकी रहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

यता कार्तिकमा मात्रै ट्राफिक राजस्व अन्तर्गत ६० लाख ५६ हजार रुपैयाँ असुली गरेको छ । यही अवधिमा बेवारिसे लागु औषध समेत प्रहरीले बरामद गरेको छ ।

डायलेक्स डिसी ७ सय ३४ थान, स्पास्मो प्रोसिक्सिवन ७ हजार २ सय ७५ क्याप्सुल र नाइट्रोजन १० दश लेखिएको ३ हजार ५ सय २० टयावलेट तथा १ हजार ४२ लिटर घरेलु मदिरा बेवारिसे अवस्थामा बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । Jipraka-2