इनरुवा : सुनसरी सदरमुकाम इनरुवामा राष्ट्रिय आरोग्य दिवस तथा धनवन्तरी दिवस मनाइएको छ ।

धनवन्तरीको जन्म जयन्तीको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको आयोजनामा दिवस मनाइएको हो ।

दिवसको अवसरमा आयुर्वेद पद्धतिको विकास र बिस्तार आजको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद क्षेत्रको विकास र बिस्तारका लागि जडीबुटी प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले प्रत्येक भान्सामा आयुर्वेदको कुरा रहेकाले त्यसमा पहिचान गरी उपभोग गर्न आवश्यक रहेको र त्यसको पहिचान सहित प्रचार प्रसार गर्न जरुरी रहेको बताए ।
पोखरेलले कोभिडका कारण चर्चामा आएको आयुर्वेद क्षेत्रको प्रचार प्रसार र व्यापकतामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहताले आयुर्वेद जीवन र जगतसँग जोडिएकोले त्यसको सदुपयोगमा सबै लाग्नुपर्ने बताए ।

मेहताले जीवनशैलीका लागि आयुर्वेद महत्त्वपूर्ण क्षेत्र र विषय भएकाले त्यसमा प्रचार प्रसारको आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, सदस्य चिरञ्जीवी बस्नेत, मोहम्मद नौसाद, नुनु मियाँ, अहिल्या देवी मेहता लगायतका सरोकारवालाले आयुर्वेदको बारेमा बोलेका थिए ।

त्यसै गरी नेपाल आयुर्वेद औषधी व्यवसाय सङ्घका अध्यक्ष जङराज गिरी, सचिव महेश थापा, जिपि तिवारी, आयुर्वेद औषधालय इटहरीका चन्द्रकुमार लाभकर्ण, कप्तानगंजका जिवछ कुमार पञ्जियार, मधुवनका नवराज पोखरेल, भोक्राहाका गणेश कुमार खत्वे, सेभ द अर्थका पुष्प भट्टराई, जिल्ला समन्वय अधिकारी शङ्कर प्रसाद पौडेल, युएनएफपीएका काशी पोखरेल, जिससका अच्छुत भण्डारी, जिससका उपप्रमुख कृष्णा कुमारी विक सहितकाले आयुर्वेदको प्रचार प्रसारमा जोड दिए ।