झापा : झापाको दमक नगरपालिकामा जम्मा १० वटा वडाहरू रहेका छन् ।

दमक नगरपालिकाको १० वटा वडाहरू मध्ये चालु आर्थिक वर्षको समपूरक अनुदान अन्तर्गत तिनै तहका सरकारको आर्थिक सहयोगमा ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य सुरु गरिएको दमकका नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।

चालु आर्थिक वर्ष भित्रमै भ्याट बाहेक ३ करोड १९ लाख रुपैयाँको लागतमा ६ वटा वडाहरू वडा नम्बर २, ३, ४, यसै गरी ८, ९ र १० नम्बर वडाका वडा कार्यालय भवन निर्माण हुने नगर प्रमुख ओलीले जानकारी दिए ।

सबै वडा कार्यालयहरूको माङसुवा प्रवीण जेभिले दमक नगरपालिकासँग १६ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी गत जेठमा सम्झौता गरेर निर्माण कार्य सुरु गरेको निमार्ण व्यवसायी मोहन अधिकारीले जानकारी दिए ।

हाल वडा नम्बर ४ को कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी अधिकारीले जानकारी गराए । वडा नम्बर २ को भवन निर्माण कार्य जारी रहेको र बाँकी वडाहरूका कार्यालय भवनको पनि क्रमशः निर्माण कार्य सुरु गरिने निर्माण व्यवसायी अधिकारीको भनाइ छ ।

१० नम्बर वडा कार्यालयको भवन आज शिलान्यास दमक नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवनको शनिवार शिलान्यास गरिएको छ । वडा कार्यालय भवनको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले वैदिक विधि अनुसार शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै दमक नगर प्रमुख रोमनाथ ओलीले दमक नगरपालिको समग्र विकासका लागि बृहत्तर गुरु योजना निर्माणको काम पनि भइरहेको बताए । सार्वजनिक शौचालय र पार्किङ सहितको ५ कोठाको एक तले पक्की भवन निर्माण हुने वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।