धरान : लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा राखिएका असहाय तथा सडक आश्रित मानवहरूलाई निःशुल्क खाना खुवाउने कार्यक्रम दुई महिना पुरा भएको छ ।

गत असोज १ गतेदेखि धरान उपमहानगरपालिकाको संयोजनमा लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउन थालेको हो ।

प्रतिष्ठानका सदस्य रन्जिप श्रेष्ठले लाङ्गाली सामुदायिक वनको परिसरमा एक कार्यक्रमको आयोजना गरी असहाय तथा सडक आश्रित मानवहरूलाई निःशुल्क खाना खुवाउन थालेको ६० दिन पुरा भएको जानकारी दिए । यस्तो विषम परिस्थितिमा पनि धरानमा विभिन्न समस्याबाट वञ्चित भएका पीडित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको उनले बताए ।

‘मङ्गलबारे र विष्णुपादुकाका पीडित परिवारलाई खाद्यान्न लगायत विभिन्न सामाग्रीहरू सहयोग गरेका छौ, र अझै पनि गर्दै जानेछौ, यसको दायरालाई बढाउँदै जानेछौ’ उनले भने ।

यसै गरी धरानका मेयर तिलक राईले धरान उपमहानगरपालिकाको सहकार्यमा धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा असहाय र सडक आश्रित मानवको रूपमा जीवन व्यतित गरिरहेका मानिसहरूलाई खाना खुवाउने क्रम जारी रहेको बताएका छन् ।

उपमहानगरपालिकाले लाङ्गाली सामुदायिक वनको भवनमा असहाय, सडक मानव र साहाराबिहीन मानिसहरूलाई गत चैतदेखि नै व्यवस्थापन गरिएको छ । ‘चैतदेखि नै उपमहानगरले यस कार्यक्रमलाई जिम्मेवारीमा लिएको छ, त्यो समय देखि नै उपमहानगरले खानपानको व्यवस्था गर्दै आएको थियो’ मेयर राईले भने ।

मेयर राईले धरान उपमहानगरसँग माया घर नेपाल, होप धरान र लोक लक्ष्मी स्मृति प्रतिष्ठान जोडिन आएको बताउँदै उपमहानगरको आफ्नै स्वामित्वमा आश्रय स्थल निर्माण गर्ने छलफल भइरहेको बताए । सुविधा सम्पन्न वृद्ध आश्रम चाडै नै निर्माण गर्ने बताउँदै जग्गाको खोजी कार्य भइरहेको मेयर राईले बताए ।

पछिल्लो समय दुई महिनादेखि लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क खाना खुवाउँदै आएको बताउँदै यस कार्यक्रमले ठुलो मद्दत पुगेको मेयर राईले बताए । धरान उपमहानगरपालिकाले असहाय सडक मानवहरूलाई जिम्मेवारी सम्झेर नै निरन्तर रूपमा सहयोग गर्नुपर्ने स्थिति छ । मेयर राईले लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानको मङ्सिर महिनापछि पनि निरन्तरता रहोस् भन्दै आग्रह पनि गरे ।

लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले असहाय सडक मानवहरूलाई मङ्सिर महिनासम्म निःशुल्क खाना खुवाउने बताएको छ । विभिन्न दाताहरूबाट सहयोग आइरहेको छ, निःशुल्क खाना खुवाउने कार्यक्रमको समयावधि लम्ब्याउन सकिने समेत स्मृति प्रतिष्ठानले जनाएको छ । लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले गत असोज १ गतेदेखि बिहान खाना र दिउँसो खाजा निःशुल्क रूपमा खुवाउँदै आइरहेको छ ।

यसै गरी माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले सडकमा जीवन बिताइरहेका जीवन र मृत्युको दोसाँधमा भएका मानवहरूलाई संरक्षण गर्ने क्रममा व्यवस्थापन गरिएको बताइन् । तर व्यवस्थापन गर्ने क्रममा ‘होप धरान’ परिवार र अन्य दाताहरूको अत्यन्तै राम्रो भूमिका रहेको उनले बताइन् । उनले लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानले निःशुल्क रूपमा असहाय तथा सडक आश्रित मानवहरूलाई खाना खुवाउन थालेको २ महिना पुरा भएकोमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन् ।

उक्त कार्यक्रममा सडक आश्रित मानवहरूलाई व्यवस्थापनको जिम्मा लिएको इटहरीको माया घर नेपालले लोक लक्ष्मी स्मृति प्रतिष्ठान धरानका सदस्य रञ्जित श्रेष्ठलाई सम्मान गरिएको थियो । उनलाई मेयर तिलक राईले मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।

यसै गरी माया घर नेपाल र होप धरानको सहकार्यमा समाजसेवी एवं गीतकार मिना सिङ्घक लिम्बु र कलाकार रेखा फागोले लाङ्गाली सामुदायिक वनको भवनमा बसेका असहाय सडक मानवका बच्चाहरूलाई दुई कार्टुन पेप्सी र ६० वटा बटुका सहयोग गरेका छन् ।

धरानका समाजसेवी स्वर्गीय लक्ष्मीप्रसाद श्रेष्ठ र श्रीमती स्वर्गीय लोककुमारी श्रेष्ठको स्मृतिमा लोकलक्ष्मी स्मृति प्रतिष्ठान स्थापना भएको हो । सो प्रतिष्ठानले धरानमा विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।