धरान : मोरङ र उदयपुरमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको उदयपुरगढी ७ नेपाल्टारमा मोटरसाइकलको ठक्करबाट सोही स्थान बस्ने १८ बर्षीया निर्मला बि.क.को मृत्यु भएको छ ।

आज बिहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन ।

घाइते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक उदयपुरगढी ८ बस्ने १९ वर्षीय मेसक राईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसै गरी मोरङको विराटनगर १२ शुक्रबारे हाट स्थित बस्ने २६ वर्षीय घनश्याम कामतको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।

गए राति पौने १० बजे को १८ प ४८३१ नम्बरको मोटरसाइकल सोही क्षेत्रको भित्री सडक खण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटर साइकलमा पछाडि सवार रहेका २० वर्षीय राजेश कामत र ४ बर्सिया सोनु कामत समेत घाइते भएकोमा उनीहरूको उपचार भइरहेको छ ।