धरान : भाइटिका लगाउन नहुने भन्ने भ्रामक हल्ला प्रति पञ्चाङ्ग निर्णय समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

यस वर्ष आश्विनमासमा अधिकमास परेका कारणले भाइ टीकाको तिथि ठेलिएर मङ्सिर १ गते पर्न गएको छ । मङ्सिर महिनामा दिदी बहिनीको हातबाट दाजुभाइले टीका लगाउनु हुँदैन भन्ने भ्रामक र गलत हल्ला चलिरहेको जानकारी नेपाल पञ्चाङ्ग निर्णायक समितिले पाए पछि यस कुरा प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार हामीले मान्ने सबै चाडपर्वहरू चन्द्रमासमा आधारित हुन्छन् । मङ्सिर १५ गते सम्म चन्द्रमास कार्तिक महिनाकै शुक्लपक्ष पर्दछ ।

भाइटिका पर्व भनेको दिदी बहिनीले दाजुभाइलाई पूजा गरी भोजन गराउने र दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई भोजन गराई यथाशक्ति दक्षिणा दिएर खुसी साटासाट गर्ने पर्व हो ।

यस कारण मङ्सिर १ गते सोमवार भाइटिकामा दिदीबहिनीका हातबाट टीका लगाउनु हुँदैन भन्ने हल्लामा कुनै शास्त्रीय आधार नभएकाले ढुक्क भएर दाजु भाइले दिदी बहिनीको हातबाट टीका लगाई भाइटिका पर्व मनाउनु हुनु सर्वसाधारण सबैमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले अनुरोध गरेको छ ।

Panchanga-nirnayak-samiti-b